मोदीको भुकमा बालकचहरी , फागुन मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता

मोदी, पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको वडा नं १ भूकमा बुधबार बाल कचहरी सम्पन्न भएको छ । गुड नेबर्स इन्टरनेसनल नेपाल र सोडेक नेपाल संगको साझेदारीमा सो कचहरी गरिएको हो । वडा भित्रका चारवटा बाल क्लबका बालबालिकाहरू, सबै विद्यालयका प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, महिला स्वयं सेवकहरु, जनप्रतिनिधिहरु, स्थानीय युवा क्लब, आमा समुह, विषयगत कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाहरूले आफ्ना समस्याहरू राखेका थिए ।

आफ्नो वडामा अझै पनि बालविवाह रोकिन नसकेको, बालश्रम कायमै रहेको, विद्यालयका भौतिक पूर्वाधारहरू बालमैत्री नभएको, कम्प्युटर कक्षहरूकाे प्रयोग नभएको, प्रयोगात्मक कार्यहरु हुन नसकेको , पिउने पानीको अभाव, शौचालय, विद्युत, लगायतका समस्याहरू रहेको गुनासो व्यक्त गरेका थिए।

त्यसै गरी विद्यालयमा महिला शिक्षक नहुँदा छात्राहरुलाई आफ्ना समस्याहरू व्यक्त गर्न कठिन भएको , प्राथमिक उपचारमा समस्या भएको , शिक्षक दरबन्दीको अभावले पठन पाठनमा समस्या भएको , अत्याधिक चिसोका कारण बिहान बेलुकाका  कक्षाहरू पढ्न असहज भएको , बालकक्षामा पढ्ने बालबालिकाहरुलाई चिसोबाट जोगाउन हिटर वा अन्य कुनै व्यवस्था गर्नु पर्ने सुझाब दिएका थिए।  बालबालिकाले विद्यालयका फर्निचरहरु बालमैत्री नभएको, होस्टलमा बस्दा फर्निचर अभाबको कारण चिसो भुइँमा सुत्नु परेको जस्ता समस्याहरू व्यक्त गरेका थिए ।

बालबालिकाहरूले  दिवा खाजा कार्यक्रमलाई कक्षा १० सम्म विस्तार गर्न पनि माग गरेका छन् । उनीहरूले विद्यालयमा खेल मैदान र खेलकुद सामग्रीको अभाव रहेको बताएका थिए । सेनेटरी प्याडको व्यवस्था भए पनि डिस्पोजलकाे लागि कुनै व्यवस्था नभएको समेत गुनासो गरेका छन् । त्यसैगरी स्थानीय रैथाने खाजाको उपलब्धता नहुँदा जंक फुड प्रयोग गर्नु पर्ने बाध्यता रहेको समेत उनीहरूले बताएका छन् ।

कचहरीमा विभिन्न समिति तथा निर्णय प्रक्रियामा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन नसकेको विषय समेत उठेको थियो ।

बालबालिकाहरूले उठाएका सवालहरुकाे जवाफ दिंदै मोदी गाउँपालिका अध्यक्ष हिरादेबी शर्माले बालबालिका सम्बद्व समस्याहरू समाधानको लागि  विद्यालय, वडा र गाउँ पालिकाले प्राथमिकताका साथ समन्वयात्मक रुपमा काम गर्ने बताउनु भयो। कतिपय जटिल एबम् दीर्घकालीन समस्या समाधानको लागि प्रदेश र केन्द्रसँग योजना माग गरी अगाडि बढ्ने विचार व्यक्त गर्नु भयो । अध्यक्ष शर्माले भन्नुभयो ” बालमैत्री सूचकहरु पूरा गर्न हामी प्रतिबद्ध छौं । बालबालिकाले प्रतक्ष्य अनुभूति गर्ने गरी हामी काम गर्ने छौ ।”

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले बालबालिकाहरूले आफ्नो अधिकार र कर्तव्यलाई संगसंगै लैजानु पर्ने बताउनु भयो । शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक , अभिभावक र बालबालिका सबैको उत्तिकै चासो र जिम्मेवारी रहनु पर्ने धारणा व्यक्त गर्नु भयो । वडा नं १ का अध्यक्ष टेक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जन नेत्र माविका शिक्षक भूमिराज शर्माले गर्नु भएको थियो भने सञ्चालन सोडेक नेपालका शिक्षा अधिकृत ऋषिराम भुसालले गर्नु भएको थियो ।

फागुन मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता 

यसैबीच सरोकारवालाहरुको भेलाले आगामी फागुन मसान्तभित्र भुकलाई बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बालमैत्री वडाका ५१ वटा सूचक मध्ये अधिकांश पूरा भइसकेको र बाँकी सूचकहरु पनि तीन महिनामा पूरा गरी वडालाई बालमैत्री वडाका रूपमा विकास गर्न कार्य योजना निर्माण गरी अगाडि बढ्ने निर्णय गरिएको छ । बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्दता पत्रमा सबै सरोकारवालाहरुले हस्ताक्षर गरी सक्रिय रूपमा कार्य सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *