गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त

पोखरा ।

गण्डकी विश्वविद्यालयको निमित्त उपकुलपतिमा पर्वतका डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन् । विश्वविद्यालय प्रारम्भिक चरणमै संस्थापक रजिष्ट्रारको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तिमिल्सिनाले हालै संशोधित गण्डकी विश्वविद्यालय ऐनअनुसार गठन भएको बोर्ड अफ ट्रस्टीमा सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् । प्रशासनिक व्यवस्थापनदेखि नीतिगत निर्णयसम्म विभिन्न तहमा सक्रिय भूमिका निभाउँदै आएका तिमिल्सिना अबको संक्रमणकालीन नेतृत्वमा प्रमुख रूपमा अघि आउनेछन ।

डा. तिमिल्सिनाले थाइल्याण्डस्थित महिडोल विश्वविद्यालयबाट जनसांख्यिकी विषयमा पीएचडी तथा अमेरिकाको मियामी विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन् । ४० वर्ष नपुग्दै विश्वविद्यालयको शीर्ष शैक्षिक नेतृत्वमा जिम्मेवारी पाउने उनी सम्भवतः नेपालको इतिहासमै सबैभन्दा कान्छा उपकुलपति मध्ये एक मानिन्छन् । युवा उमेरमा नै शैक्षिक नेतृत्व, अनुसन्धान र प्रशासनिक क्षमतामा देखाएको दक्षताका कारण उनी शैक्षिक क्षेत्रमा उदाउँदो नेतृत्वको रूपमा हेरिन्छन् ।

शैक्षिक नेतृत्वसँगै डा. तिमिल्सिना सामाजिक विषय, शिक्षा, सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा धारिलो दृष्टिकोण राख्ने लेखकका रूपमा पनि परिचित छन् । उनका लेख तथा विचारहरू विभिन्न प्रतिष्ठित राष्ट्रिय दैनिकहरूमा निरन्तर रूपमा प्रकाशित हुँदै आएका छन । उनका विश्लेषणात्मक लेखनले विश्वविद्यालय प्रशासन र राष्ट्रिय शैक्षिक नीतिमा समेत सकारात्मक प्रभाव पारेको बताइन्छ ।

निमित्त उपकुलपतिका रूपमा उनले अब सञ्चालनका प्रमुख कार्यक्रम मध्ये गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सफलतापूर्वक सम्पन्न गर्नु मुख्य प्राथमिकतामा राखेका छन् । दीर्घकालीन शैक्षिक दृष्टिकोण विकास, शैक्षिक कार्यक्रमको गुणस्तरीय उन्नयन, संस्थागत पारदर्शिता, स्वशासन प्रणाली सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाउन उनले दीर्घकालीन लक्ष्य अघि सारेका छन् ।

गण्डकी प्रदेशको प्रमुख सार्वजनिक उच्च शिक्षण संस्थाका रूपमा विकसित हुँदै गएको गण्डकी विश्वविद्यालयको वर्तमान नेतृत्वले अबको केही वर्ष संस्थागत बलियोपन, शैक्षिक तहमा सुधार र अनुसन्धानमैत्री वातावरण निर्माणमा महत्वपूर्ण मोड दिने अपेक्षा गरिएको छ । डा. तिमिल्सिनाको युवा उमेर, अन्तर्राष्ट्रिय शैक्षिक अनुभव र प्रशासनिक सक्रियता विश्वविद्यालयमा नयाँ ऊर्जा र दिशा दिने विश्वास विश्वविद्यालय समुदायले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *