यस्तो हुने छ लगानी बोर्डबाट स्वीकृत भएको मुक्तिनाथ केबुलकार

पर्वत ।

जिल्लाको  सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म पुग्ने   ८१.०४१ किलोमिटर विश्वकै लामो यात्रुवाहक केबुलकार निर्माण हुने भएको छ ।  केबुलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार पारी १५ कात्तिक २०७८ मा लगानी बोर्डमा बुझाएको थियो ।  बहुप्रतिक्षित मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपियाँ लगानी बोर्डबाट स्वीकृत भएको हाे ।

इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडलमा यो केबुलकार बनाउन करिब ४४ अर्ब रुपियाँ लगानी गर्ने गरी भारतीय कम्म्पनी के एन्ड आर इन्जिनियरिङसँग समझदारी पनि भएको थियो ।

कम्पनीका अध्यक्ष अरुण सुवेदीका अनुसार प्रशासनिक ढिलासुस्तीका कारण सो समझदारीको समयसीमा गुज्रिसकेको छ । अब स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाटै ऋण लगानी गराउन पनि पहल गरिने उहाँले बताउनुभयो । “प्रक्रियागत ढिलासुस्तीका कारण हामीले लक्ष्य अनुसार समयमा काम गर्न पाएनौँ,” उहाँले भन्नुभयो, “ढिलै भए पनि सरकारले परियोजनाको काम अघि बढाउन स्वीकृति दिएको छ, अब हामी लगानीका लागि नयाँ र उपयुक्त विकल्पमा छलफल गर्ने छौँ ।”

१७ खण्ड हुने सो केबुलकारमा १९ वटा स्टेसन हुने छन् । यीमध्ये तीन वटा प्राविधिक स्टेसन मात्र हुने छन् ।  यीमध्ये आठ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने हुन्छ । पाँच स्टेसनमा अत्यावश्यक भए मात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था रहने बताइएको छ । केबुलकारमा ७७६ वटा डिब्बा (गोन्डोला) राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबुलकार समुद्री सतहबाट एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्ने छ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केबुलकार योजनाको  छ ।

केबुलकारको पहिलो स्टेसन सेराफाँट (वीरेठाँटी/नयाँ पुल)मा हुनेछ । दोस्रो  घोडेपानी १३ दशमलव ३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२ दशमलव ७३ किलोमिटर, चौथो तातोपानी–लेते १६ दशमलव ४४ किलोमिटर रहनेछ । यसैगरी, पाँचौं स्टेसन लेते–जोमसोम २३ दशमलव ९२ किलोमिटर, छैटौं जोमसोम–कागबेनी ८ दशमलव २४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । यस केबुलकारबाट वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान पनि गरिएको छ ।

प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबुलकारका डिब्बाले मुक्तिनाथसम्म पुग्न केबुल तीन घण्टा ३६ मिनेट लगाउने छ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुने छन् । आयोजना निर्माणका लागि इटालियन कम्पनीले रोप्स र डोपलमेयरले परामर्शदाताको काम गर्ने छन् । अन्तर्राष्ट्रिय अनुभवी कम्पनी भएकाले यो केबुलकारमा उपकरणहरू डोपलमेयरकै प्रयोग हुने जनाइएको छ । सो केबुलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठूलो मात्रमा पर्यटन र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *