पर्वत ।
आज बाला चतुर्दशी मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ। आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो। श्रद्धालु भक्तजनहरू शतबीज छर्नुअघि हिजो साँझ पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बस्ने गर्दछन् ।
शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै पवित्र स्थलहरूमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ। यसैबीच आज पशुपतिनाथ लगायत देशै भरका तीर्थस्थलहरुमा भक्तजनहरू बिहानै देखि सदविज छर्न पुगेका छन् ।
पर्वतको पञ्चासे, पातीचौर, मोदीबेणी, सेतिबेनी डहरे देउराली, गुप्तेश्वर गुफा, बाटुलेचौर लगायतका धार्मिक स्थलमा सदबिज छरिएको छ ।
आज बिहानै पातिचौरको शिव मन्दिर बाट बाजागाजा, भजन कीर्तन सहित सयौको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुले तोरण निकाली पातीचौर बजारको परिक्रमा गराई मोदी र पाती को संगम स्थलमा लगेर तोरण तार्ने कार्य सम्पन्न गरेका छन् । सो स्थानमा द्वीप बाल्ने तथा सद बीज छर्ने कार्यमा घुइँचो लागेको थियो ।