भूमिराज शर्मा
पर्वत ।
लाखौ नेपाली युवाहरु स्वदेशमा रोजगारीको अभाव रहेको, लगानी गर्ने वातावरण नभएको भन्दै देश छाडिरहेको अबस्थामा यहाँका एक युवा भने स्वदेशमा नै पसिना बगाएर गाई पालनमा रमाइ रहेका छन् । निरन्तरको मेहनत, जाँगर, उत्साह र लगानीका साथ लागि पर्ने हो भने स्वदेशमा नै सफल कृषक बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, मोदी गाउँपालिका वडा नं २, कोरुङ्गाका ३८ बर्षीय युवा बेदु अर्थात बेद प्रसाद तिमिल्सिना । उनले संचालन गरेको प्रगति उन्नत गार्ई फार्मको माध्यमबाट तिमिल्सिनाले कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणित गरी दिएका हुन् ।
२०७१ सालमा पोखराको बागमाराबाट २ ओटा गाई ल्याएर व्यवसायिक गाईपालन सुरु गरेका उनको फार्ममा यतिबेला २२ वटा उन्नत गाईहरु रहेका छन् । तिमिल्सिनाले यतिबेला दैनिक विहान बेलुकी गरेर १८० लिटर भन्दा बढी दूध उत्पादन गर्दै आएका छन् । ‘घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानूभन्दा आफ्नै माटोमा परिवारको साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ । ’ तिमिल्सिनाले भने ।
आम्दानीको विकल्प खोज्दै गाईपालन
विज्ञान विषयमा स्नातक गरेका तिमिल्सिनाले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन शुरु गर्नुको कहानी भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका तिमिल्सिनाको परिवारमा त्यतिबेला बज्रपात पर्यो जति बेला उनका बुबालाई घाँटीको क्यान्सर रोगले समात्यो । बुबाको उपचारमा ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरी समेत बिक्री गरेर गाउँ फर्किए । उपचारकै क्रममा बुबाको मृत्यु भयो भने आर्थिक अबस्था पनि कमजोर बन्दै गयो ।
गाउँमै केही गर्छु भन्ने उद्धेश्यका साथ उनले कुखुरा पालन शुरु गरे । बोलेरो गाडी किनेर गाउँ कै सडकमा गुडाउन थाले । तर पनि यी व्यवसायमा उनी सफल हुन सकेनन् । त्यसपछि उनी नजिकैको बोर्डिङ स्कूलमा पढाउन थाले । सोही क्रममा घरमा दुई ओटा गाई पालेर दुध समेत बेच्न थाले । उनले दिउसो बोर्डिङ स्कुलमा पढाउँथे भने बिहान बेलुका गाईको स्याहार सुसार गर्ने गर्दथे । उनी आफै दूधका क्यान बोकेर पातीचौरमा रहेको डेरी सम्म पुग्थे । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका बिद्यार्थी र सहकर्मी शिक्षकहरु समेत अचम्म मान्थे । एक पटक त उनलाई आकर्षक तलब दिने गरी मुस्ताङमा विज्ञान शिक्षण गर्न पनि बोलाइएको थियो तर उनी गएनन् । तिमिल्सिना भन्छन् , ‘ सायद म त्यता गएको भए शिक्षण पेसामा नै भुल्थें होला तर कृषिमा नै रम्न लेखेको रहेछ र मन मानेन ।’
भावुक हुँदै उनले भने, ‘ लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन संघर्ष गर्नु पर्यो तर पनि बिचलित भइन । ’ संघर्षबाट थाक्न नजानेका तिमिल्सिनाले निरन्तर मिहेनत गरी रहे । उनका परिवारका सदस्यहरुले पनि दरिलो साथ दिए । गोठमा जन्मिएका बाच्छीहरु हुर्काउन थाले । बिस्तारै गाईको संख्या बढाउँदै लगे । नेपाल सरकारका अनुदानका कार्यक्रमहरुमा प्रस्ताब हाल्न थाले । प्याक्ट कार्यक्रमले उनलाई १० लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्यो । पूर्वाधारहरु मजबुत बन्दै गए । उनको व्यवसाय सफल बन्दै गयो । तिनै बेदप्रसाद अहिले ६ जनालाई रोजगारी सिर्जना गर्न सफल भएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी बृद्ध आमाको ओठमा यतिबेला गाई पालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती र छोरा लगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फार्मलाई सफल व्यवसायमा परिणत गर्न सक्षम भएका छन् ।
उनको फार्ममा अहिले १६ वटा गाईले दैनिक १८० लिटर भन्दा बढी दूध दिन्छन् । ४ ओटा ब्याउनेवाला छन् भने अन्य कोरली गाई रहेका छन् । दूध बिक्रीबाटै मासिक झण्डै एक लाख आम्दानी गर्ने गरेको उनले बताए । ‘अहिले दैनिक १८० लिटर दूध बेचिरहेको छु,’ तिमिल्सिनाले भने,‘मासिक रुपमा खर्च कटाएर एक लाख भन्दा बढी रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध डायरीमा प्रतिलिटर ८० रुपैयाँमा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर एक सय रुपैयाँ रहेको छ । उनले दूध बेचेर नै परिवार राम्रोसँग चलाएका छन् भने गाउँमा नै एक उदाहरणीय युवा बन्न सफल भएका छन् ।
अर्गानिक उत्पादनका लागि मलको श्रोत बन्दै कृषि फर्म
गाउँमा गाईवस्तु पाल्न छाडिरहेको र खेतीमा समेत आधुनिक प्रविधिस्वरुप ट्याक्टर भित्रिरहेको वर्तमान अवस्थामा अर्गानिक उत्पादन समेतमा समेत ह्रास आइरहेको छ । गाउँमा समेत विषादीयुक्त रासायनिक मल प्रयोग गर्ने र सोही अनुसार उत्पादन वृद्धि गर्ने कृषकहरुको बाहुल्यता रहेको छ । तर अर्गानिक उत्पादनमा रुची राख्ने र सोही अनुसारको उत्पादनलाई प्राथमिकतामा राख्ने कृषकहरुका लागि वेदुको कृषि फर्म गतिलो मलको श्रोत बन्न थालेको छ । यतिबेला उनको फर्मबाट गाईको दुध, घिउ, दही, कुराउनी मात्र नभएर मल खरिदको लागि समेत कृषकहरु आउने गरेका छन् ।
उनको फार्र्मबाटअर्गानिक खेतिको लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उनले बार्षिक झण्डै २० देखि २५ ट्रयाक्टर मल बिक्री गर्छन । व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फार्मका सञ्चालक राजेन्द्र बहादुर खड्का भन्छन् , ‘गाई फार्मबाट अर्गानिक तरकारी खेतिका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।’ तिमिल्सिनाको फार्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीको लागि मल लैजाने गरेका छन् ।
पशु सेवा कार्यालय फार्म नजिकै भएको हुँदा गाईहरुको उपचारमा उनलेखासै समस्या झेल्नु परेको छैन । उनी भन्छन् , ‘ कामले काम सिकाउँदो रहेछ । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचार म आफै गर्छु । केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिनुहुन्छ ।’उनले गाईलाई खुवाउनको लागि आफ्नो १६ रोपनी जमिनमा घाँस रोपेका छन् । घाँसको बिक्रीबाट पनि उनी बार्षिक एक लाख भन्दा बढी आम्दानी गर्छन् । उनले आफ्नो फार्ममा प्रविधिको पनि प्रयोग गर्न थालेका छन् । उनी आवश्यकता अनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्ने गर्छन् । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । उनी भन्छन् , ‘पहिले दुध पीठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फार्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध स्टोर गरेर राख्न सक्ने क्षमता पनि छ । पहिले जस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ । ’
पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहाने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरी सकेका छन् । गाई फार्म सञ्चालन गर्नुका साथै उनी स्थानीयलाई दुग्धजन्य पदार्थ आपूर्ति गर्ने तथा व्यवस्थापन गर्ने मोदी खोला कृषि सहकारीको अध्यक्ष समेत हुन् । मोदी खोला सहकारीसँग दूध बोक्ने आफ्नै गाडीसमेत छ ।सहकारीले दूध बेच्ने मात्रै नभएर विभिन्न दुधका परिकार पनि स्थानीय बजारमा बिक्री गर्ने गरेको छ । यसका साथै धार्मिक कार्य तथा अन्य प्रयोजनका लागि स्थानीय जनतालाई सहज रुपमा दूध उपलब्ध हुने गरेको छ । आफ्नो व्यवसाय विस्तार गर्नुका अतिरिक्त सहकारीको माध्यमबाट स्थानीय समुदायलाई फाइदा पुग्ने खालका आय आर्जनका कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको उनी बताउँछन् ।
प्रगति उन्नत गाई फार्म बेद प्रसाद तिमिल्सिनाको कडा परिश्रम, समर्पण र दुग्ध खेतीप्रतिको लगावको प्रमाण हो। निरन्तरको परिश्रमले समुदायमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हो। स्थानीय समुदायलाई फाइदा पुग्ने दुग्ध खेतीको आत्मनिर्भर मोडल सिर्जना गर्ने दिशामा उनी काम गरिरहेका छन् । उनले आफ्नो फार्म र सहकारीबाटस्थानीय जनतालाई दिगो आम्दानीको स्रोत मात्र दिएका छैनन्, यस क्षेत्रको समग्र विकासमा पनि योगदान पु¥याएका छन् ।
(घटनाक्रमबाट)