काठमाडौं ।
दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । साे खेलमा थ्रीस्टार र आर्मीले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता थ्रीस्टारले लिएको थियो । ६८औँ मिनेटमा लाकेन लिम्बुले उत्कृष्ट गोल गर्दै थ्रीस्टारको उत्साह जगाए । तर ८६औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले हेड गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए ।
बराबरीसँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ । थ्रीस्टारको १८ खेलबाट २६ अङ्क पुगेको छ । समान खेलबाट २५ अङ्क बनाएको आर्मी छैटौँ स्थानमा छ ।