देउपुरमा आयोजित सात किमी दौडको उपाधि म्याग्दीका चौध वर्षिय मुलुक सिंह खत्रीलाई

मोदी, पर्वत ।

विजया दशमीकाे अवसरमा देवपूरकोट कालिका तथा भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आज बिहिबार फूलपातीको दिन ७ किमी खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि म्याग्दीका १४ वर्षिय मुलुक सिंह खत्रीले हात पारेका छन् ।

पातिचौर बजारकाे देउपुर चोकदेखि कालिका भगवती मन्दिर कोट मैदान सम्म ७ कि.मि लामो खुल्ला .”कालिका भगवती दर्शन धावनउत्सव” ( लामो दौड प्रतियोगिता ) मा निर्धारित दुरी ४३ मिनेट २२ सेकेण्डमा पूरा गरी रघुगङ्गा गाउँ पालिका ८ म्याग्दीका मुलुकसिंह खत्री प्रथम, ४४ मिनेट ३५ सेकेण्डमा पुरा गरी अन्नपूर्ण गाउँ पालिका वडा नं ८ कास्कीका सरोज शर्मा द्वितीय र ४५ मिनेट १९ सेकेण्डमा पुरा गरी पुतली बजार नगरपालिका – १२, स्याङ्जाका सुजल परियार तृतीय भए । त्यसै गरी मोदी गाउँ पालिका ५ बाजुङका सन्तोष परियारले सान्त्वना स्थान प्राप्त गरे । उनले उक्त दूरी ४६ मिनेट २, सेकेन्डमा पूरा गरेका थिए ।

सो प्रतियोगितामा प्रथम हुने खेलाडीले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीयले ७ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । सो प्रतियोगिताका गत वर्ष विजेता बनेका सरोज शर्माले यस वर्ष दोस्रो स्थानमा चित्त बुझाए । उनलाई म्याग्दीका १४ वर्षिय मुलुक सिंह खत्रीले पछि पार्दै उक्त उपाधी हात पारेका हुन् । त्यसैगरी तृतीय र सान्त्वना हुने खेलाडीले क्रमशः ५ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो प्रतियोगितामा सात वर्षिय बालक सौरभ खड्का देखि ६५ वर्षिय वृद्ध भीम प्रसाद चापागाई सहित २२ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मोदी गाउँ पालिका अध्यक्ष हिरा देवी शर्माले विजयी खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्नु भएको थियो । सो अवसरमा खेलाडीहरुलाई नगदको साथमा फूलमाला ,खादा ,अविर र प्रमाणपत्र सहित पञ्चेबाजाद्वारा सम्मान गरिएको थियो । दौडमा सहभागी कान्छो धाबक र सबै भन्दा वृद्ध धाबक लाई प्रोत्साहन स्वरूप जनही एक हजार पुरस्कार डोलेन्द्र हमालले गर्नु भएको थियो ।

सो प्रतियोगिताकाे प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे प्रायोजन देवपूरकोटथर घर भई हाल अमेरिकामा कार्यरत समाजसेवी गोविन्द खड्काले गर्नु भएको आयोजकले जानकारी दिएको छ । देउपुर घर भई हाल अमेरिकामा कार्यरत युवाहरुले उक्त अभियानमा स्वःस्फूर्त रूपमा साथ दिई रहेको खड्काले जानकारी दिनुभयो । मातृभूमिको कला, संस्कृति र खेलकुदको संरक्षण र बिकासमा आफूहरुले सक्दो सहयोग गरी रहने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *