पर्वत ।
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड आजदेखि सेवाको ८९ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कार्तिक ३० गते खुलेको नेपाल बैङ्क लिमिटेडले आफ्नो स्थापना दिवस मनाइरहँदा, देशका विकट क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गरेकोमा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्।
पर्वत जिल्लाको मोदी गाउँपालिकामा नेपाल बैङ्कको शाखा विस्तार भएपछि सरकारी कामकाज तथा वित्तीय कारोबारमा निकै सहजता आएको पाइएको छ।
केही वर्षअघि मोदी गाउँपालिकामा शाखा स्थापना गरी सेवा दिन थालेपछि गाउँपालिकाका बासिन्दा तथा कर्मचारीहरूले सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको छ।
कर्मचारी, शिक्षक र सेवाग्राहीलाई ठूलो राहत
शाखा विस्तारपछि सबैभन्दा बढी सहजता शिक्षक र कर्मचारीहरूलाई मिलेको छ। सेवाग्राहीका अनुसार, बैङ्क शाखा गाउँपालिकामै उपलब्ध भएपछि शिक्षक तथा कर्मचारीहरूको तलब-भत्ता भुक्तानी सहज र समयमै हुन थालेको छ। सरकारी कामकाज सञ्चालनका लागि आवश्यक पर्ने रकमको कारोबार र व्यवस्थापनमा सरलता भएको हो ।
“पहिले तलब लिन सदरमुकामसम्म जानुपर्थ्यो, बाटो खर्च र समय दुवै लाग्थ्यो। नेपाल बैङ्कको शाखा गाउँपालिकामै खुलेपछि धेरै सजिलो भएको छ। सबै काम यहीँबाट हुन्छ,” एक जना सेवाग्राहीले बताए।
नेपाल बैङ्कले स्थापना दिवसको अवसरमा विकट क्षेत्रमा वित्तीय साक्षरता र पहुँच विस्तार गरी आफ्नो ऐतिहासिक भूमिकालाई थप सशक्त बनाउँदै लगेको छ। बैङ्कको यो कदमले गाउँपालिकाको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुगेको स्थानीयको भनाइ छ।
नेपाल राष्ट्र बैङ्क (केन्द्रीय बैङ्क) स्थापना हुनुअघि वि.सं. २०१२ सालसम्म देशको केन्द्रीय बैङ्कको रूपमा समेत नेपाल बैंकले कार्य गरेको थियो । बैंकले प्रविधिको विकास सँगै आफ्ना सेवाहरुलाई डिजिटल बनाई विभिन्न थप प्रविधिमैत्री बैंकिङ सेवाहरु समेत प्रदान गरी रहेको छ ।