पर्वतमा प्रदेश स्तरीय बृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव हुँदै

पर्वत।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा यहीँ माघ १५ देखि २४ गतेसम्म गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव-२०८१ आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक खेलकुद महोत्सव हुने भएको हो । कार्यक्रमको तयारीका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ र ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धन’ भन्ने नाराका साथ ‘ऐतिहासिक गण्डकी प्रदेश स्तरीय वृहत् खेलकुद एवं सांस्कृतिक महोत्सव, २०८१’ को आयोजना गरिएको समितिका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिए ।

महोत्सवमा प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ रहेको गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिँदै छ । यस्तै प्रथमलाई ५५ हजार र द्वितीयलाई ३३ हजार पुरस्कार राशि रहेको खुल्ला महिला भलिबल प्रतियोगिता, प्रथम पुरस्कार २० हजार र द्वितीय पुरस्कार १० हजार रहेको १५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र कबड्डी प्रतियोगिता पनि आयोजना गरिँदै छ ।

प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको गण्डकी प्रदेश स्तरीय तारो हान्ने परम्परागत खेल पनि महोत्सवको आकर्षणको रूपमा रहेको अध्यक्ष गुरुङले बताए । तेक्वान्दो प्रतियोगिता, कराँते प्रतियोगिता, प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र आठ हजार राशिको रत्यौली गीत प्रतियोगिता, सोही पुरस्कार राशि रहेको लोक भजन चुड्का प्रतियोगिता, विजेता र उपविजेतालाई क्रमशः २० हजार र १० हजार राशि पुरस्कार रहेको पर्वत डान्स आइडोल पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक रुपमा सांगितिक प्रस्तुतीहरु राख्ने छन् । सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक तथा दोहोरी गीत सहित अन्य विधाका कलाकारहरुले प्रस्तुति राख्नेछन् ।

कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा आयोजना हुने महोत्सव सफल बनाउनको लागि समितिका अध्यक्ष गुरुङ नै मूल संयोजक रहने गरी अन्य २६ वटा उपसमितिहरू निर्माण गरेर परिचालन गरिएका छन् ।

महोत्सव सञ्चालन गर्दा करिब ८३ लाख रुपैयाँ खर्च हुने र आम्दानी करिब ९६ लाख हुँदा करिब १३ लाख रुपैयाँ खुद बचत हुने अनुमान आयोजकको छ । आम्दानीले जिल्ला खेलकुद विकास समितिको आफ्नै भवन निर्माणका लागि खर्च गर्न, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउन, पर्वत जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न, पर्वतको उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धनमा सहयोग पु¥याउन, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्न, स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्न लगायतका क्षेत्रमा थोरै भए पनि सहयोग गर्न सकिने लक्ष्य राखिएको छ ।

खेल महोत्सव प्रदेशकै लागि नयाँ भएको र गण्डकीको खेल विकास र प्रवद्र्धन आवश्यक रहेको गण्डकी खेलकुद परिषदले महोत्सवलाई साथ दिएको छ । महोत्सव सञ्चालन गर्नको लागि अभिभावकीय भूमिकामा रहेके परिषदले खेलको सहप्रायोजक बन्दै अन्य आवश्यक सहयोग र समन्य पनि गरेको छ ।

जिल्ला खेलकुद विकास समितिले स्थानीय तथा क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने, खेलकुद प्रशिक्षण र तालिम कार्यक्रम सञ्चालन गर्ने, खेलकुद पूर्वाधारको विकास गर्ने, युवा तथा खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य र ‘फिटनेस’ सम्बन्धी जागरूकता कार्यक्रम चलाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने र प्रतिनिधित्व गराउने लगायतका कामहरू गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *