यो वर्ष १०० पूर्णांकमा नेपालले ३३ अंक पाएको छ । गत वर्ष नेपालले पाएको अंक ३४ थियो । टान्सपरेन्सी इन्टरनेसनल, नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्ग स्थान भन्दा प्राप्त स्कोर महत्त्वपूर्ण भएको बताउँछिन् । ‘स्कोर ५० भन्दामाथि छ भने त्यो मुलुक भ्रष्टाचार व्याप्तमा पर्दैन’, उनी भन्छिन् ।
नेपालको स्कोर गतवर्ष भन्दा कम किन आयो त ? यो प्रश्नको जवाफ थाहा पाउन पहिला सीपीआई कसरी मापन हुन्छ भन्ने चर्चा गर्नुपर्ने हुन्छ । सन् २०१२ देखि विभिन्न ६ वटा प्रतिष्ठित संस्थाले गरेको अध्ययन प्रतिवेदनको आधारमा सीपीआई नापिन्छ ।
विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटी अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) को रिपोर्टको आधारमा सीपीआई स्कोर मापन गरिन्छ ।
यीमध्ये वर्ल्ड जस्टिस प्रोजेक्टबाहेक सबैको प्रतिवेदनमा नेपालको अवस्था गतवर्ष जस्तै रहेको उल्लेख छ । जस्टिस प्रोजेक्टले भने गत वर्ष भन्दा तीन अंक कम दिएको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले अघिल्लो वर्ष नेपाललाई ३५ अंक दिएकोमा यो वर्ष ३२ दिएको छ । यसबाट नेपालको कुल स्कोरमै प्रभाव पर्ने गरी अंक घटेको हो ।
वर्ल्ड जस्टिस प्रोजेक्टले कम अंक दिनुको अर्थ के हो त ? ‘यसले नेपाल सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ’, अध्यक्ष प्रधानाङ्ग भन्छिन्, ‘निजी स्वार्थका लागि आफ्नो पदको दुरुपयोग गर्ने तीन वटै निकायका पदाधिकारीलाई कारवाही नगरेपछि नेपालको अंक घटेको हो ।’