आर्थिक वर्ष २०८३/८४ को बजेटमा मोदी गाउँपालिका अन्तर्गतका केही योजनाहरु

पर्वत।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पर्वत जिल्लाको भौतिक पूर्वाधार, सडक, पुल र आवास क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास, भवन, आवास तथा स्थानीय पूर्वाधार विकास तर्फ मोदी गाउँपालिका अन्तर्गतका केही योजनाहरु सार्वजनिक भएका छन् ।

रणनीतिक सडक कालोपत्रे : पातिचौर-नागी सडकलाई १७.५ करोड

जिल्लाकै आर्थिक र पर्यटकीय लाइफलाइन मानिएको रणनीतिक महत्त्वको पातिचौर-बाजुङ-क्याङ-नागी सडक कालोपत्रे गर्न सरकारले आगामी वर्षका लागि १७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेटले म्याग्दीको सीमावर्ती क्षेत्रसम्मकै जनजीवन र ग्रामीण पर्यटनमा ठूलो रूपान्तरण ल्याउने विश्वास गरिएको छ ।

यस्तै, अन्य महत्त्वपूर्ण सडक आयोजनाहरूको बजेट

पातीचौर-मैदान लप्सीबोट सडक :  स्तरोन्नतिका लागि ६४ लाख ४१ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

अन्तर-जिल्ला पुनर्लाभ सडक : म्याग्दीको घारखोला-शिख घोडेपानी सडक र पर्वतको पातिचौर-लप्सीबोट सडकको पुनर्लाभका लागि संयुक्त रूपमा ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

मख देउपुर ठूलीपोखरी पूर्णगाउँ लादी घुरुंगा सडक: समपुरक अनुदान अन्तर्गत यो क्रमागत योजनाका लागि १ करोड रुपैयाँ सुरक्षित गरिएको छ ।

पातीचौर- टिमुरे – कयांग सडक: नयाँ योजनाका रूपमा समक स्तरोन्नतिका लागि २४ लाख रुपैयाँ विनियोजन भएको छ ।

पुल निर्माण: मोदी गाउँपालिकाका वडा र बस्तीहरू जोडिँदै

भौगोलिक रूपमा विकट रहेका बस्तीहरूलाई सहज आवतजावत गराउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पुल निर्माणमा पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

पातिखोला मोटरेबल पुल : मोदी गाउँपालिकाको वडा नं. ३ र ५ लाई सिधा सडक सञ्जालमा जोड्न पातिखोलामा मोटरेबल पुल निर्माणका लागि ५६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

झोलुङ्गे पुलहरू: मोदी गाउँपालिकाकै ठाडो खोला (हिले-लम्सालथर) र रति खोला (पानी घाट र खरिबोट) मा नयाँ झोलुङ्गे पुल निर्माणका लागि ३० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।

सघन सहरी विकास र शैक्षिक गुणस्तरमा  लगानी

सरकारले सडक र पुलबाहेक सहरीकरण र शिक्षा क्षेत्रमा पनि नयाँ योजनाहरू भित्र्याएको छ :

सघन सहरी विकास कार्यक्रम:  मोदी गाउँपालिकाभित्र सहरीकरण, सडक स्तरोन्नति र सुरक्षा सुनिश्चित गर्न हरेक योजनाका लागि १ करोड ५० लाख रुपैयाँका दरले बजेटको व्यवस्था गरिएको छ ।

विशेष अनुदान (शिक्षा): जिल्लाको शैक्षिक विकास र ुसेवाको गुणस्तर अभिवृद्धि कार्यक्रमु अन्तर्गत नयाँ योजनाका रूपमा १ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको यो बजेटले पर्वत जिल्ला, विशेष गरी मोदी गाउँपालिका र आसपासका क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बजेट समयमै कार्यान्वयन भएमा स्थानीय उत्पादनले बजार पाउने र आन्तरिक पर्यटनमा समेत नयाँ आयाम थपिने भन्दै स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् । अन्य विषयगत मन्त्रालयहरुको बजेट भने अझै सार्वजनिक हुने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *