तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माता’को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ ।
हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।
औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।
रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।