पर्वतमा शिक्षक : २२३ दरबन्दी मिलानमा बल्ल ६८ को व्यवस्थापन

पर्वत 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७६ सालमा शिक्षकहरूको दरबन्दी मिलान गर्नका लागि जिल्लागत रूपमा रहेका दरबन्दीको विवरण सार्वजनिक गर्‍यो। प्राथमिक तहमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीको संख्याको आधारमा जिल्लामा थप्नुपर्ने र सरुवा गर्नुपर्ने विवरण केन्द्रले नै दियो।

सोही अनुसार पर्वतमा पनि दुई सय २३ जना शिक्षकहरूको दरबन्दी मिलान गर्नुपर्ने भनी तोकिएको थियो। तर दुई वर्षको यो अवधिमा ६८ जना शिक्षकहरूको मात्रै व्यवस्थापन भएको छ। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका कार्यालय प्रमुख उद्धीमराज पौडेलका अनुसार स्थानीय तहले अद्यावधिक तथ्यांक उपलब्ध गराएर स्थानीय तहमा तोकिए अनुसारको दरबन्दी मिलान गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।

‘दुई वर्षको अवधिमा ६८ जनाको मात्रै व्यवस्थापन भएको छ। यीमध्येका केही त स्वेच्छिक रूपमा म आफै जान्छु भनेर जानुभएको हो। अब पनि केहीका निवेदनहरू सरुवाका लागि प्राप्त भएका छन्,’ उनले भने, ‘स्थानीय पालिकालाई तथ्यांक चुस्त दुरुस्त राख्न भनिएको छ। त्यहाँबाट अथेन्टिक विवरणहरू आएका छैनन्। यति लामो समयसम्म पनि विवरण तयार नपार्नु दुःखद हो।’

पौडेलका अनुसार स्थानीय तहबाट मागिए अनुसारको तथ्यांक नपाएपछि समन्वय इकाईको कार्यालयबाट विद्यालयका प्रधानाध्यापकलाई नै फोन गरेर तथा कार्यालयमा रहेका रेकर्डहरूको आधारमा जिल्लामा रहेका प्राथमिक तहका शिक्षकहरूको दरबन्दीको विवरणहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाइएको छ।

यही कात्तिक मसान्तसम्ममा दरबन्दी मिलानको काम सक्ने भनिएका कारण आफूले पठाएको तथ्यांकलाई हेरेर कनिष्ठताको आधारमा केन्द्रबाट नै पर्वतमा बढी भएका दरबन्दीहरू काटेर दरबन्दी कम भएका जिल्लामा पठाउने सम्भावना रहेको पनि पौडेलको भनाई छ।

‘अब केन्द्रबाट नै व्यवस्थापन हुन्छ भन्ने लाग्छ मलाई। रिक्त रहेका दरबन्दी पठाइयो, कनिष्ठका आधारमा केन्द्रबाट नै फाल्दै जान सक्ने अवस्था आउँछ,’ उनले भने, ‘पहिलो चरणमा खुद पुलमा रहेका दरबन्दीको व्यवस्थापन भइसकेपछि हामीकहाँ जति बच्छन्, तिनीहरू रिक्त हुँदै आउँदा त्यसलाई माध्यमिक र निम्न माध्यामिक तहमा रूपान्तरण गरेर दरबन्दी सिर्जना गर्ने कार्य योजना हो। तर त्यो कार्य योजना कति वर्ष पूरा नहुने हो त्यो ठेगान नै छैन।’

पर्वतमा पुलमा रहेको कुल दरबन्दी संख्या चार सय ८१ हो। तर निम्न माध्यमिक, माध्यमिक तथा कक्षा ११ र १२ मा समेत प्रा.वि दरबन्दीमा रहेका शिक्षकहरुले अध्यापन गराइरहेका कारण ती विद्यालयमा जनशक्ति अभाव हुने जोखिमले त्यो संख्या घटेर दुई सय २३ मा झरेको हो।

आधारभूत र माध्यमिक तह समेत सञ्चालन गरिरहेका विद्यालयमा आवश्यकता अनुसार दरबन्दी व्यवस्थापन नहुँदा उच्च शिक्षा हासिल गरी प्राथमिक तहमा कार्यरत शिक्षकहरूलाई माथिल्ला कक्षामा अध्यापन गर्न लगाउनुपरेको अवस्था छ।

प्रा.वि.मा नियुक्त भएकै आधारमा पुलमा रहेको दरबन्दीलाई कटौती गर्दा आधारभूत र माध्यमिक तहका कक्षा सञ्चालनमा अवरोध हुने भएकाले दुई सय ५८ वटा दरबन्दी पहिलो चरणमा जोगिने अवस्थामा रहेका हुन्।

थाहा खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *