गोठाला झरेपछि सुनसान बुकी, रमझम गाउँ (फाेटाे फिचर)

नवीन शिशिर विक
बागलुङ।

गत जेठमा गाई, भैँसी, भेडा लिएर चरणमा (बुकी) जानु भएका लिलबहादुर अदै आफ्ना सम्पत्ति (गाईभैसी, भेडा, घोडा) लिएर अघिल्लो साता अधिकारीचौर फर्कनुभयो । ढोरपाटन नगरपालिका–६ अधिकारीचौर निवासी अदै लेकमा चार महिना बिताएर ढोरपाटन झर्नुभएको थियो ।
ढोरपाटन शिकार आरक्ष आसपासको जग्गामा भदौदेखि असोजसम्म एक महिना बिताएर जोडा छल्न वस्तुभाउ लिएर अघिकारीचौर फिर्ता हुनुभएको हो । गर्मी महिनामा गाउँ छोडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ्, निसी, देवीस्थान, बुर्तिवाङ झरे पछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ज्योती विकास आधारभुत विद्यालय ढोरपाटनका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।
ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्ने बाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैसी, भेडा लिएर तल झरेका किसान बैशाखमा फेरि बुकी जान्छन्् । गोठालाहरु बेसी झरेपछि ढोरपाटनको नवी, स्यालपाखे, पाखाथर, भुजी, निसेलढोर, छेन्तुङका घर तालाचावी लगाएका छन् । तिब्बती शरणार्थीबाहेक अन्य स्थानीय लेकबेसी गर्छन् । बालबालिकाको पठन पाठनसमेत घुम्ती विद्यालयमार्फत हुने अदैको भनाइ छ ।
बुकीबाट झरेका बस्तुभाउलाई गोठालाहरुले मलको लागि बारीमै छोड्न गर्छन । मल पुगे पछि खनजोत गरेर हिउँदे बाली (गहुँ, जौ, फापर ) लगाउने गरेको बोवाङका तमबहादुर कायतले जानकारी दिनुभयो । मकै छरेर पछि बैशाख १५ देखि ढोरपाटन क्षेत्रमा उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको माथिल्लो भाग बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ ।
गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाहरुले बर्ष गुजार्छन । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलु बाली लगाए पछि गोठालाहरु चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौषसमा बस्तुभाउको लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरवासी घुम्ती बसाईमा निस्कने विकको भनाइ छ ।
दिउँदमा हिमपात, हुने जाडो बढन् भएकाले जाडो छल्न बेसी झरेको कृषक तमबहादुर कायतको भनाई छ । पुर्खाहरुले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ्याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारको लागि सदरमुकाम तथा जिल्ला बाहिर जाने युवा बाहेक गाउँमा बस्ने जवानहरु पनि लेकबेसी गर्छन । ढोरपाटन नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो ।
‘बर्खामा संकलन भएको घिउ बेचेर घरखर्च चल्छ’ तमबहादुर कायतले भन्नुभयो–‘भेडा, बाख्रा, साँड, रांगो पनि बेच्ने गरिन्छ ।’ ६७ बर्षिय कायत अझै पनि लेकबेसी गर्नुहुन्छ । बर्खाको समय बुकी जाने गोठालालाई घरमा रहेका परिवारका सदस्यका बेलाबेलामा खर्च पुर्याउने गर्छन् । हिउँदमा बुकी क्षेत्र र ढोरपाटनमा बास्लो हिउँ पर्ने हुँदा धेरै पशुचौपया हुने कृषक अनिवार्य बेसी झर्नुपर्ने बाध्यता हुन्छ ।

गाेरखापत्र बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *