पर्वत ।
नेपालको तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ ।
कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि चार दिनसम्म मनाइने छठ पर्वको आज पहिलो दिन हो । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ ।
यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।
यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।