काठमाण्डाै ।
राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।
आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने श्रेष्ठले बताउनुभयो ।
यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ ।
नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।
तीन महिना लाग्ने
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो ।
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।
घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको लामिछानेले बताउनुभयो ।
वडा अभिलेख बन्ने
यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । जगनणनाबाट वडाभित्र भएको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुच वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाको विवरण आउनेछ ।
त्यस्तै खानीको अवस्था, वडामा राजस्व सङ्कलन हुने राजस्वका स्रोतहरू, वडाले प्रदान गर्ने सेवा सुविधाको अवस्था सहरी सेवा, सुविधामा वडावासीको पहुँचको अवस्था, वडाभित्रको भौतिक पूर्वाधारको अवस्था, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमको अवस्थाको यथार्थ विवरण आउनेछ । उक्त विवरणको आधारमा सबै वडाको अभिलेख बन्ने महानिर्देशक श्रेष्ठले बताउनुभयो । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।