वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाइने

वालिङ ।

स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ ।

कोभिड–१९ संक्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । ‘वालिङ नगरपालिकाको तथ्यांकअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ’, उनले भने, ‘कात्तिक ३० देखि मंसिर २ गतेसम्म बाँकी रहेका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।’

वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा ३ दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ । ‘वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ’, नगरप्रमुख खाँणले भने, ‘त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।

१८ वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताए । नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मंसिर २ गतेसम्म ३ दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *