पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।
विशेषगरी लामो दूरीबाट यात्रा गरेर काठमाण्डौ आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका यात्रु काठमाण्डौका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।
यस्तै अत्यावश्यक कामले काठमाण्डौ बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाण्डौबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।
बन्दको क्रममा काठमाण्डौवाट ५ जना कार्यकर्ता पक्राऊ परेका छन् ।
बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।
नेपाल वन्दको असर पोखरामा विहानैदेखि परेको छ ।
बन्दको क्रममा पोखराको छोरेपाटनवाट २ जना कार्यकर्ता पक्राऊ परेका हुन् । पक्राउ पर्नेहरुमा सो पार्टीका जिल्ला कार्यालय सचिव काजी गुरुङ, पीएन इकाई उपाध्यक्ष युवराज मगर रहेको कास्की जिल्ला इन्चार्ज उमा भुजेलले जानकारी दिएकी छन् । टायर वालेर प्रदर्शन गर्दा विहान ५ वजे उनीहरु पक्राउ परेको उनले बताइन् ।
नेपाल आयाल निगमले गरेको अस्वाभाविक इन्धनको मूल्य वृद्धि तथा अन्य खाद्यवस्तुको मूल्य बृद्धि विरुद्ध नेपाल वन्दको आव्हान गरेको सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनताको जनजीविकालाई चटक्कै भूलेर वर्तमान गठवन्धन सरकार र नेपाल आयल निगमले इन्धनको मूल्य वढाएर बोनस र कमिशन खाने प्रपञ्च रचेको सो पार्टीले जनाएको छ ।
आम सर्वहारा जनताको ढाडसेक्ने गरी गरिएको मूल्य वृद्धि कुनै हालतमा स्वीकार गर्न नसक्ने सो पार्टीले जनाएको छ ।
यसैवीच वन्दको पूर्व सन्ध्यामा हिजो साँझ सो पार्टीले देशै भर मसाल जुलुस निकालेका खवरहरु प्राप्त भएका छन् । बन्दकर्ताहरुले पोखराको लेखनाथ गोगनगौडा र छोरेपाटनमा पनि साँझ मसाल जुलुस निकालेका थिए । दलाल र नोकरशाहीहरुले संञ्चालन गरेको सरकार जनमुखी नभएको भन्दै उनीहरुले अहिलेको व्यवस्था नै परिवर्तन गर्नु आवस्यक भएको वताएका छन् ।
आज विहानै पनि वन्दकर्ताहरुले पोखराका विभिन्न स्थानमा टायरवालेर प्रदर्शन गरेका छन् । कास्कीको पोखरामा विहानैदेखि वन्दको असर देखिएको छ । पोखराका चोकमा चोकमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बन्दको समयमा प्रेसका साधन, एम्वुलेन्स, खानेपानी, दूध लगायतका गाडी सुचारु रहने वताईएको छ । बन्द विहान ५ वजेदेखि साँझ ५ वजेसम्म रहने नेकपा विप्लवका कास्की जिल्ला इन्चार्ज उमा भूजेलले जानकारी दिएकी छन् ।
साथै सो पार्टीले बढाइएको मूल्य फिर्ता नलिदासम्म संघर्षका कार्यक्रम जारी राख्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।