योग्य शिक्षक भेट्नै गाह्रो

गणित, विज्ञान र अंग्रेजीका अध्यापक पाउनै मुस्किल, पाएकासँग पनि शिक्षण अनुमति नहुँदा समस्या

रामेछाप  ।

मन्थली माध्यमिक विद्यालय रामेछापले गणित शिक्षकका लागि शनिबार पाँचौं पटक विज्ञापन गर्‍यो । यसभन्दा अघि गरिएका विज्ञापनमा पनि कसैले दरखास्त हालेनन् । पहाडी क्षेत्रका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गर्नका लागि भनेका बेला योग्यता पुगेका शिक्षक पाइँदैनन् ।

जिल्लामा त्यस प्रकारको जनशक्ति छैन । जिल्लाभित्र मात्र पहुँच हुने सूचनाबाट दरखास्त आह्वान गर्दा योग्य व्यक्ति भेटिँदैनन् । ‘त्यही भएर हामीले पाँचौं पटक राष्ट्रिय दैनिकबाट नै सूचना प्रकाशित गरेका छौं,’ मन्थली माविका प्रअ टंकप्रसाद दाहालले भने ।

मन्थली नगरपालिकाकै भीमेश्वर रुद्र मावि चिसापानीमा विज्ञान विषयको शिक्षक खाली भएको २ महिना भयो । विद्यालयले शिक्षक भर्नाका लागि विज्ञापन गर्‍यो तर शिक्षक पाइएन । प्रअ शंकरप्रसाद ढुंगेल भने, ‘शिक्षण अनुमति नहुँदा योग्यता पुगेका व्यक्तिले पनि दरखास्त दिन आएनन् ।’ शिक्षक हुन शैक्षिक योग्यताका अतिरीक्त शिक्षण अनुमति प्रमाणपत्रलाई अनिवार्य गरिएको छ । उक्त प्रमाणपत्रका लागि शिक्षक सेवा आयोगले विगत २ वर्षदेखि परीक्षा लिएको छैन ।

लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा पनि विज्ञान विषयको शिक्षक खाली भएको धेरै भयो । ‘पालिकाले आन्तरिक रूपमा विज्ञापन गरेको छ, तर खोजेको जस्तो व्यक्ति पाइएको छैन,’ लिखु तामाकोसी गाउँपालिका शिक्षा शाखाका प्रमुख रामसिं डडाल भन्छन्, ‘अनुमति प्राप्त व्यक्ति खोज्दा पठन पाठनको विषय गाह्रो हुँदै आएको छ ।’

डडालका अनुसार केही पालिकाले शिक्षण अनुमति नभएको व्यक्तिलाई नियुक्त गरी तलब–भत्ता खुवाउने गरेका छन् । तर त्यसो गर्दा संघीय कानुनअनुकूल हुँदैन । योग्यता पुगेको भए पनि शिक्षण अनुमति प्रमाणपत्र नभएको व्यक्तिलाई नियुक्ति गर्दा त्यसलाई दिने तलबलगायतका सुविधा बेरुजु हुने गरेको छ । संघीय कानुनले शिक्षण पेसाका लागि शिक्षण अनुमति प्रमाणपत्र अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *