करेन्ट लागेर पानीमा बेपत्ता भएका गङ्गा बहादुरको शव भेटियो

पर्वत

निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजनामा काम गर्दै करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ मा बस्दै आएका नेपालीलाई मोदी गाउँपालिका–२ मा रहेको जलविद्युत आयोजनामा काम गरिरहेको अवस्थामा सोमबार बिहान करिब ११ बजे करेन्ट लागेको थियो।

पानीको ओभरफ्लो फाल्ने ठाउँ टेल लेसमा काम गर्ने क्रममा करेन्ट लाग्दा नेपाली पानीमा डुबेका थिए। उनको उद्धारको लागि प्रहरी निरीक्षक प्रदीप पौडेल र प्रहरी चौकी देउपुर, पर्वतबाट प्रहरी नायव निरीक्षक भरत गौतम सहितको टोली घटनास्थलमा पुगेको भए पनि उनी भेटिएनन्।

अवस्था अज्ञात रहेपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, बिपद ब्यवस्थापन कार्यालय बागलुङबाट प्रहरी नायव निरीक्षक टिकेन्द्र थापा र सशस्त्र प्रहरी निरीक्षक पुरनप्रसाद न्यौपानेको कमान्डमा झन्डै ६५ जना प्रहरी परिचालन भएको थियो।

मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदीप पौडेल सहितको टोलीले घटनास्थलमा पुगेर खोजी गर्दा नेपालीको शव घटना भएकै टनेलमा फेला परेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *