पर्वतको मोदी खेतमा सुविधा सम्पन्न लालटिन रिसोर्ट संचालनमा

माेदी ,पर्वत

जिल्लाकाे  मोदी खेतमा धौलागिरिकै आकर्षक सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याईएको छ । रोजगारीका लागि झण्डै तीन दशक लामो समय जापान बसेर फर्किनुभएका एक व्यावसायीले व्यक्तिगत लगानीमा रिसोर्ट संचालन गर्नुभएको हो ।

पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङस्थित पोखरा-बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा झण्डै रु. २५ करोडको लगानीमा लालटिन रिसोर्ट संचालन गरिएको हाे ।

No description available.

छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट संचालनमा ल्याउनुभएको हो । मध्यपहाडी लोकमार्ग हुँदै छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङ तथा मुक्तिनाथ लगायतका ठाउँहरुमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै शान्त र मनोरम स्थानमा रिसोर्ट संचालनमा ल्याएको बताउनुभयो ।

रिसोर्टमा अत्याधुनिक भवनहरु निर्माण गरिएको छ भने रिसोर्ट वरपर उत्कृष्ट साजसज्जा गरिएको छ । त्यसैगरी स्विमङपुल, टिकटक सेन्टर, रिसोर्ट वरपर आकर्षक माछापालन लागि पोखरीहरु समेत बनाईएको छ ।

त्यसैगरी ४ सय जना क्षमताको पार्टीप्यालेस, बालबालिकाका लागि गार्डेन समेत निर्माण गरिएको छ । नजिकै रहेको मोदीखोलालाई प्रयोग गरेर मनोरन्जनात्मक खेलहरु संचालन गर्ने तयारी समेत रिसोर्टले गरेको छ । उहाँले यस अघि पोखरामा पोखरा ह्याभेन रिसोर्ट समेत संचालनमा ल्याईसक्नुभएको छ ।

काठमाण्डौ लगायत अन्य जिल्लावाट आउने पर्यटकलाई पोखरामा बनेको पोखरा ह्याभेन रिसोर्ट र त्यहाँवाट हिमालपारीको जिल्ला मुस्ताङ जाने पर्यटकलाई लालटिन रिसोर्ट हुँदै म्याग्दीको गलेश्वर र मुस्ताङ जानका लागि सहज होस् भन्ने उद्धेश्यले आफुले लगानी गरेको उहाँले बताउनुभयो ।

रिसोर्टमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाम गरेका छुट्टाछुट्टै आवासीय कटेजहरु समेत निर्माण गरिएको छ । प्रत्येक कटेजमा कम्तिमा दुई जनाको दर र बढिमा परिवारको संख्या अनुसार बस्न मिल्ने गरी तयार पारिएको छ । कुन जिल्लावाट आएको पर्यटक हो उ आफ्नो रोजाई अनुसारको जिल्ल नामाकरण गरेको कोठामा सुत्न सक्ने र यसले हरेक जिल्लाको पहिचान समेत झल्काउने गरी व्यवस्थापन गरिएको छ ।

शान्त वातावरण रुचाउनेहरुलाई रिसोर्ट आकर्षित गर्ने संचालक राजभण्डारी ले बताउनु भयो । काठैकाठको संरचना बनाईएकाले पनि बढि मात्रामा प्रकृतिमैत्री रहेकाे  छ । उहाँले जीवनको उर्जाशिल समय विदेशमा विताएको भएपनि नेपालमै केहि गरौ भन्ने उद्धेश्यले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर रिसोर्ट संचालन गर्नुभएको हो ।

यसले समग्र पर्वत लगायत धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुऱ्याउने अपेक्षा गरिएको छ । पर्वतमा यति ठुलो लगानी गरेर संचालन गरिएको यो पहिलो रिसोर्ट हो।

रिसोर्ट अंग्रेजी नयाँ वर्ष सन् २०२२ को जनवरी १ गतेदेखि पुणर् रुपमा संचालनमा ल्याउने तयारी भैरहेको संचालक राजभण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *