पर्वत / गोठाला गएका बालक १७ दिनपछि मृत फेला परेका छन् । गत मंसिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।बालक रात्माटा र दराकको बिचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ खुलेको छैन । पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार गोरु चराउन गएका उनी घर नफर्किएपछि गाउँलेहरुले खोजी गरिरहेका थिए । २४ मंसिरको दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएकामा सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरुले खोजी सुरु गरेका थिए । तर, फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मंसिरमा खबर गरेका थिए । प्रनाउ बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन सकेन । ‘बोल्न सकेको भए खोजीमा जाने व्यक्तिहरुले पत्ता लगाउन सहज हुन्थ्यो,’ बुढाथोकीले भने, ‘बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जंगली जनावरले फेला पारेको हुनुपर्छ ।’ जंगली जनावरले शरीरका विभिन्न अंग खाएको अवस्थामा शव फेला पारेको उनले बताए ।