प्रदेश नं २ को नाम मधेश, राजधानी जनकपुरधाम

प्रदेश नं २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावहरू प्रदेशसभाबाट पारित भएका छन्।

प्रदेश सभामा सोमवार दिउँसो स्थायी राजधानीका लागि पहिले भएको मतदानमा दुईतिहाई बहुमतबाट प्रस्ताव पारित भएको प्रदेश सभामुख सरोजकुमार यादवले घोषणा गरे।

त्यसपछि बसेको दोस्रो बैठकबाट प्रदेशको नाम मधेश प्रदेश पारित भएको उनले घोषणा गरे।

प्रदेशको स्थायी राजधानीका लागि प्रदेश सभामा तीन वटा प्रस्ताव दर्ता भएका थिए।

पहिलो प्रस्तावको रूपमा जनकपुरधाम केन्द्रसमेत उत्तरमा पूर्वपश्चिम राजमार्गको ढल्केवर, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमा र पश्चिममा बृहत् मिथिला परिक्रमा क्षेत्रलाई राजधानीका लागि प्रस्ताव गरिएको थियो ।

सो प्रस्तावको पक्षमा ७८ मत परेको थियो। प्रदेश सभामा हाल १०४ जना सदस्य सङ्ख्या कायम रहेको छ।

पाँच जनाले मतदानमा भाग लिएनन् भने २१ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका प्रमुख सचेतक परमेश्वर साहले गरेको सो प्रस्ताव दुईतिहाई बढी मतले पारित भएपछि वीरगन्ज र बारा एवम् पर्साका भूभागसहित वीरगन्ज स्थायी राजधानी बनाउने प्रस्ताव निर्णयाार्थ मतदानमा लगिएन ।

प्रदेशको नामकरणका लागि सचेतक साहले गरेको मधेश प्रदेशको प्रस्तावलाई दुईतिहाईभन्दा बढी मतले पारित गरिएको थियो।

मतदानमा भाग लिएका ९९ जना सभासदहरूमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरे। १९ जनाले प्रस्तावको विपक्षमा मतदान गरेको प्रदेश सभामुख यादवले घोषणा गरे ।

पाँच जनाले मतदानमा भाग लिएनन् ।

कुल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सभासद् रहेका छन्। माओवादी केन्द्रले तीन जनालाई निलम्बन गरेपछि सङ्ख्या घटेको हो ।

“मधेश प्रदेशको पक्षमा अन्य दलका सभासद्हरूले पनि मतदान गरेका छन्,” प्रस्तावक साहले भने।

“केही सभासद्हरुले विपक्षमा मतदान गरे पनि दुईतिहाई बढी मतले पारित भएको छ।“

प्रदेश सभा बैठकमा पहिलो प्रस्तावको रूपमा मतदान भएको मधेश प्रदेश पारित भएपछि सभामुखले प्रदेशको अन्य प्रस्तावित नामहरूलाई मतदानका लागि प्रस्तुत गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *