पर्वतमा भोलि देखि निषेधाज्ञाकाे आदेश, अवज्ञा गरिए कार्बाहीकाे चेतावनी

पर्वत ।

पर्वत लगायत देशका विभिन्न स्थानमा काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिएपछि पर्वतमा माघ ५ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी उक्त आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाको शैक्षिक क्रियाकलापदेखि होटल, सेवाप्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातयात लगायतका फरक फरक क्षेत्रका लागि समयावधि तोकेर आदेश जारी गरेको छ ।

अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा जिल्लामा शैक्षिक क्रियाकलाप, सिनेमा हल लगायतका क्षेत्रहरु माघ १५ सम्म पूर्ण रुपमा बन्द गर्ने आदेश जारी गरिएको छ ।

त्यस्तै गरी मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ भने होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सेवाप्रदायक निकायहरुमा सेवाग्राहीको अनिवार्य दुवै डोजयुक्त खोपकार्ड देखाएर सेवा दिन आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कार्बाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । संक्रमण बढेपनि सर्वसाधारणहरुले संक्रमण प्रति बेवास्ता गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सवै सजग रहन आग्रह गर्नुभयो ।

पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षण लाई तिब्रता दिइएको र परीक्षण गरिएका मध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर डिबी क्षेत्रीले बताउनुभयो ।

May be an image of text

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *