काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । आजको आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको छ ।’
लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि आयोग दबाबमा छ । त्यसैले आज बिहिबारको आयोगको बैठकको एजेण्डामा परीक्षा स्थगितको विषय पनि समावेश गरिएको आयोगका एक सदस्यले बताए ।