सिँह दरबारमा एमसीसी सम्झौता, आगामी निर्वाचन र कोभिड–१९ का विषयमा छलफल सम्पन्न

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफल सम्पन्न भएको छ ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बैठकमा प्रतिनिधिसभा संसदमा प्रतिपक्षीको उपस्थितिको वातावरण बन्नुपर्नेमा जोड दिएको र यो भनाई प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखिएको बताउनुभयो । संसद सुचारु गर्ने जिम्मा सरकारको भएकाे पोखरेलले बताउनुभयो ।

देशको राष्ट्रिय राजनीतिमा अन्तराष्ट्रिय लगायतका मामिलामा खासगरी, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भौता, आगामी निर्वाचन र कोभिड–१९ महामारीका विषयमा बैठकमा छलफल भएको बताउनुहुदै पोखरेलले एमसीसीबारे पहिले सत्तागठबन्धनको स्पष्ट धारणा बाहिर आउनुपर्ने बताइएको जनाउनुभयो । राष्ट्रिय मुद्दाका सन्दर्भमा र स्थानीय तहको निर्वाचन समयमै गर्नेमा एमालेले आफ्नो अडान कायम राखेको र यसमा सकारात्मक सम्बोधन हुने पनि उहाँले बताउनुभएको छ ।

यसबाहेक पछिल्लो समय कोभिड–१९ महामारीको समयमा भएको २४ लाख खोप प्रकरणका विषयमा सरकार गम्भिर र संवेदनशील बन्न नसकेकोप्रति एमालेले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष ओली पहिलो पटक आज बालुवाटार वार्तामा सहभागी हुनुभएको हो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिनुभएको थियाे । माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे उहाँले राष्ट्रिय सहमति हुनुपर्ने र स्थानीय चुनाव पछि गर्नुपर्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो । यस सम्बन्धमा चुनावपछि सरोकारवाला, नागरिक समाज, बुद्धिजीवि सबैसँग सल्लाह गरेर अघि बढ्नुपर्ने विषय माओवादी अध्यक्ष प्रचण्डले राख्नुभएको शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *