लेवाडे दुर्घटनामा बाबुछोरी दुवैको मृत्यु, ठक्कर दिने कार चालक फरार

पोखरा ।

मातातीर्थ औंसीको भोलिपल्ट बुबासँग मोटरसाइकलमा पोखरा फर्कँदै गरेकी १८ वर्षीया सुजिना तिलिजा पुनले ट्युसन पढ्न जान पाइनन् । आइतबार पर्वतको कुश्माबाट पोखरा फर्किँदै गर्दा विपरीत दिशाबाट आएको कारले ढिकुरपोखरीको लेवाडेमा मोटरसाइकललाई ठक्कर दियो । सुजिनाको घटनास्थलमै मृत्यु भयो । बुबा ४५ वर्षीय जीतबहादुरको उपचारकै क्रममा सोमबार निधन भयो ।

पोखराको अर्चलबोटमा आफन्तकोमा बसेर उनी माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । शनिबार मातातीर्थ औंसीमा आमाको मुख हेर्न उनी शुक्रबार कुश्मा नगरपालिका ४ पुरानोचौकी पुगिन् । जेठ १६ बाट हिसानको परीक्षा सुरु हुने भएकाले त्यसको तयारीका लागि उनले ट्युसन पढिरहेकी थिइन् । आइतबार ट्युसन पढ्न पुग्नैपर्ने भएकाले बुबाले ग १८ प ८१९१ नम्बरको मोटरसाइकलमा उनलाई पोखरा पुर्‍याउने भए ।

बिहान ७ बजेको हुँदो हो, पोखरा आइपुग्न २० किलोमिटर जति बाँकी हुँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा विपरीत दिशाबाट गलत लेनमा आएको ग ३ च ३५२५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा सवार बाबुछोरी नै उछिट्टिएर कारभन्दा २० मिटर पर बजारिए । दुर्घटना भएको केहीबेरमै उनीहरूलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याए पनि सुजिनालाई चिकित्सकले मृत घोषित गरे । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान निधन भयो । अहिले सुजिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

उनले आफन्तले बाबुछोरीको शव बुझेका छैनन् । कारका चालक पर्वतस्थित जलजला गाउँपालिका खनियाँघाटका एन्जल बम मल्ललाई पक्राउ नगर्दासम्म शव नबुझ्ने उनीहरूले बताएका छन् । कार चालक फरार रहेको र प्रहरीले पक्रिन उदासीनता देखाएको भन्दै पोखरा-बागलुङ राजमार्गको हेमजास्थित याम्दी पुलमा सोमबार केहीबेर उनीहरूले सडक अवरुद्ध गरे । त्यसअघि पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए । कास्की प्रहरीले फरार रहेका कार चालकको खोजी भइरहेको र खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण सँग अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *