काठमाडौं । महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि यही कार्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः आग्रह गरेको छ । समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई निवेदन दिएको थियो । त्यसको सुनुवाई नभएपछि आफूहरुले पत्रकार सम्मेलनमार्फत् सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः अनुरोध गर्नु परेको समितिका अध्यक्ष मदन साहले बताए । उनले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गरे । रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाईदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर यस वर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कार्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाडौं महानगरपालिकाले भने अझैं सो स्थान उपलब्ध नगराएकोमा पनि हामी मर्माहत भएको समितिका अध्यक्ष साहले बताए । तराई–मधेशमा भव्य रुपमा मनाइँदै आएको छठ पर्व विगत केही वर्षयता काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाउने गरिएको छ । छठ पर्वले पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।