मुक्तिनाथ केबुलकारको पिआइए हुँदै

काठमाडौं।

प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार बनाउन आयोजना लगानी सम्झौता (पिआइए) हुने भएको छ।

लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच पिआइए हुने भएको हाे। मुक्तिनाथले केबुलकारको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) काम सकेको छ। अब लगानी बोर्डसँग पिआइए गरेर केबुलकारको कामअघि बढाउने योजना मुक्तिनाथको छ।

डिपिआर र इआइएको काम सकिएकाले पिआइएका लागि लगानी बोर्डसँग वार्ताअघि बढाउन लागेको मुक्तिनाथ दर्शनका प्रवन्ध सञ्चालक श्रीधर सापकोटाले बताए। बोर्डसँग पिआइएपछि मात्र लगानी जुटाएर केबुलकारको काम सुरु गर्ने योजना रहेको उनले सुनाए।

कम्पनीले गरेको अध्ययनअनुसार केबलकार संरचना र होटल बनाउन ५४ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। कम्पनीले विदेशी र स्थानीय बैंकहरूबाट लगानी जुटाउने भएको छ। जसअनुसार १० अर्ब ६० करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वपुँजी हुने गरी लगानी मोडालिटी बनाइएको छ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले पनि महत्व दिँदै मुक्तिनाथ केबुलकार बनाउन सहजीकरण गर्ने भनेको छ। सरकारले सहजीकरण गर्ने भएकाले केबुलकार परियोजनाअघि बढाउन सजिलो हुनेछ।

मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो। काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केबुलकार सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ।

करिब ४४ अर्ब ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ। लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ।

केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन्। यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ। ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ।

कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ। केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ।

मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ। प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ।

यस्तै केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ। दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ।

त्यसैगरी पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ।

वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबुलकारमा सोही क्षमताबराबरको गोन्डोला राखिने छ। केबुलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *