तनहुँ ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत् प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका छन् । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।
पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।
यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ५ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।