पोखरा ।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्रे गर्न सुरु गरिएको हो ।
पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्रे गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्रे गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्रे गर्न सुरु गरेका छौँ”, उनले भने।
“पहिलो चरणको परीक्षण कालोपत्रे सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्रे गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गरे ।
तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्रे गरिएको उनले बताए । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिए । साथै सबवेस र फेसको काम पनि भइरहेको छ ।
पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रे गरिएको छ । उनका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताए ।