पर्वत ।
जिल्लाको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा वितरण गर्न थालेको थालेको छ । संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको थालनी गरिएको हो । यसबाट आमा र बच्चाको पोषणमा सुधार हुने लक्ष्य लिइएको छ ।
सो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा लक्षित वर्ग शीर्षकमा चार लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । उक्त रकमबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम मार्फत सुत्केरी भएकाहरुलाई घ्यु र अण्डा वितरण गरिएको गाउँ पालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिकाकाे महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्माले घ्यु र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीहरुबाट पोषण र पौष्टिक आहरा तयार पार्ने विषयमा समेत परामर्श दिने गरिएको बताउनुभयो ।
शर्माका अनुसार २०७९ साउन देखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई दुई क्रेट अण्डा र एक माना घ्यु वितरण गरिने छ । वडा नं ५ र ६ बाहेकका अन्य सबै वडाका करिब २०० जना सुत्केरीलाई घ्यु र अण्डा सम्बन्धित वडामा पुगेर वितरण गरी सकिएको छ भने वडा नम्बर ५ लेकफाँट र ६ शालिजामा आज बुधबार वितरण गर्ने कार्यक्रम रहेको छ ।
