जलजलामा पहिरो, पाँच वटा बस्ती जोखिममा

पर्वत ।

जिल्लाको जलजला गाउँपालिका-५ कुवापानीको पहिरोले ५ वटा बस्ती जोखिममा परेका छन् । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवार विस्थापित भएका छन् । ती बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका छन् । उनीहरू  पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा आश्रय लिएर बसेका छन् ।

पहिरोले जलजला- २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ ।

मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपाली धान र कोदो रोपाई पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *