जलजलामा अभिभावक शिक्षा कार्यक्रम

पर्वत ।

जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ‘ गुणस्तरीय शिक्षामा अभिभावक शिक्षा कार्यक्रम ‘ शुरु गरेको छ ।

विद्यार्थीहरुका लागि उपयुक्त वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरण हुन सकोस् भन्ने उद्देश्यका साथ अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको गाउँ पालिकाले जनाएको छ ।

गाउँ पालिकामा रहेको फर्से धाईरीङ मावि सल्यान, कृष्ण भवन धर्म मावि धाइरिङ र शिव मावि नाग्लीवाङमा सो कार्यक्रम सोमबार सञ्चालन भइसकेको छ भने जलजलाका ४७ वटै सामुदायिक विद्यालयमा सम्पन्न गरिने बताइएको छ ।

सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको मागअनुसार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्व लगायतको विषयमा जानकारी दिएर अभिभावकलाई थप जिम्मेवार बनाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषयमा शैक्षिक विज्ञ, कर्मचारी, जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, सम्बन्धित वडाका अध्यक्ष तथा शैक्षिक सरोकारवालाको उपस्थितिमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

अभिभावकले जस्तो व्यवहार गर्छन् त्यसैको सिको बालबालिकाले गर्ने भएकाले पनि अभिभावक शिक्षाको आवश्यकता महशुस गरिएको हो । उक्त कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले साउन १५ देखि १८ गतेसम्मका लागि समय तालिका बनाएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *