एसईईमा १.६ जीपीए ल्याउनेले ११ कक्षा भर्ना हुन पाउने, सरकारी सेवा प्रवेश गर्न भने २.० जीपिए चाहिने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा एसईईमा १.६ जीपीए ल्याउने विद्यार्थी माथिल्लो कक्षामा भर्ना हुन पाउँछन् । तर सरकारी सेवामा प्रवेश गर्न भने कानुनी बन्देज छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार हरेक वर्ष ५ लाख विद्यार्थी एसईईमा सहभागी हुन्छन् । परीक्षामा समग्रमा १.६ जीपीए ल्याउने विद्यार्थी माथिल्लो कक्षा ११ मा भर्ना हुन पाउँछन् । अझ यो वर्षदेखि शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले एसईईमा १.६ जीपीए ल्याउने विद्यार्थीले आफूले रोजेको जुनसुकै विषय अध्ययन गर्न पाउने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्णप्रसाद शर्माको भनाइ छ ।

तर लोकसेवा आयोगले भने एसईईमा १.६ जीपीए ल्याउने विद्यार्थी निजामती सेवाको प्रतिस्पर्धामै रोक लगाएको छ । राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदका लागि एसईईमा न्यूनतम् २ जीपीए ग्रेड प्वाइन्ट प्राप्त गरेकाले मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था भएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीको भनाइ छ । पहिला एसएलसीमा जुनसुकै श्रेणीमा पास भएकाले पनि खरिदारमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।

जीपीए २ भन्दा कम ल्याउने धेरै विद्यार्थी सरकारी जागिरका लागि अयोग्य हुने लोकसेवाको कानुनी व्यवस्थाले धेरै विद्यार्थी मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *