कास्की ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने भनिएको छ।
आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवरध न गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन नगर्न नगराउन पनि कास्की प्रशासनले अनुरोध गरेको छ।
सूचना, सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ र अन्य प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव पार्टी जस्ता कार्यक्रमहरू नगर्न प्रशासनको अनुरोध छ। प्रशासनले गरेको अनुरोधलाई उल्लंघन गरी त्यस्ता कार्यक्रमको आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।