शनिबारबाट केही दिन मौसम बदली हुने: वर्षा, चट्याङ र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।

भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।

‘धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना छ।’

विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

२०७८ असोज २९ गते (शुक्रबार)

राति: प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ असोज ३० गते (शनिबार)

दिउँसो: देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ असोज ३१ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सेताेपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *