काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।
पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
निकै बलियो टिम मानिएको भारत विरुद्ध गोल गर्न नेपालले सकेन। नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । फाइनल खेलमा भारतसँग पराजय भएसँगै नेपाल उपविजेतामा सीमित भएको छ ।