काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको हाे ।
नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थित भएका थिए ।
टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।