१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वसहकर्मीहरुले ‘गद्दार’ एवं ‘केपी ओलीका दास’ को संज्ञा दिए ।
पूर्वसभामुख ओनसरी घर्तीले गृहमन्त्री रामबहादुर थापा बादल र मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालाई गद्दार भएर जन्मिएको भन्दै जनताले उनीहरुको प्रतिकार गर्ने बताइन् ।
नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको जनसभामा लिखित भाषण गर्दै पूर्वसभामुख घर्तीले भनिन्, ‘आजभोलि मैले सुनिरहेकी छु, हाम्रो पार्टीका केही नेता कमरेड बादल, टोपबहादुर, मणिजस्ता कमरेडहरुचाहिँ प्रतिगमनको रक्षा गर्न बालुवाटार छिर्नुभएको छ रे । कमरेडहरु, आन्दोलनको सिलसिलामा तपाईहरु गद्दार भएर जन्मनुहुन्छ भने क्रान्तिकारीहरुले तपाईहरुको प्रतिकार गर्नेछन् ।’