पोखरा : बेमौसमी वर्षा रोकिएपछि पोखराका किसानले छिटो पाक्ने हाइब्रिड धान काट्न सुरु गरेका छन्। वर्षाको कारण छिटो पाक्ने हाइब्रिड उपज, युएस ३१२ लगायतका धान काट्न ढिला भएको किसानले बताएका थिए।
पोखराको हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले यस वर्ष आलु चाँडो लगाउन चाँडै पाक्ने हाइब्रिड धान उपज लगाएको तर काट्ने बेलामा झरी परेपछि खेतमै धान झर्न सुरु भएको अवस्थामा पानी रोकिएर राहात मिलेको सुनाइन्।
एक हप्ताअघि काटिसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइ भएको किसानले बताएका छन्। तीन दिन अघिदेखि पानी पर्न रोकिएपछि यति बेला पोखराका किसान छिटो पाक्ने धान काट्न खेतमा व्यस्त छन्।
पोखरा ३१ का किसान कमल अधिकारी पनि चाँडो पाक्ने धान झर्न थालेपछि पानी रोकिएको मौका छोपी धान काट्न सुरु गरेको बताएका छन्। धान नै बिग्रने डरले किसानले धान काटेर मसिन प्रयोग गरेर धान उतिबेलै छ्ट्याउने पनि गरेका छन्।
पोखरेली जेठोबुढा, गुद्र्धी लगायत स्थानीय जातका धान भने कात्तिकको तेस्रो सातादेखि काट्न सुरु हुन्छ। बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थमा झरीले भिज्दा क्षति पुगेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
यसै गरी जेठोबुढो, गुद्र्धी लगायत १२ यस रोपनी क्षेत्रफलमा लगाएको धान ढलेको उनले सुनाए। महानगपालिकामा २५० टन जति धानबालीमा क्षति पुगेको पनि कडरियाले जानकारी दिए। दसैंअघि धान काटेर खेतमा सुकाएको धान निरन्तरको वर्षाले खेतमै धान उम्रेर नोक्सान भएको पोखराको पामे स्थित चौबिसे बगरकी चन्द्रकला तिमिल्सिनाले सुनाइन।
अन्नपूर्ण पाेस्ट बाट