म्याग्दी ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहानदेखि दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एक साथ आवतजावत गर्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।
उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै‚ बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म बाटो खुला रहने छ।
उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तब्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उनले जानकारी दिए।
काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो। हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा गर्ने काम समेत हुँदै आएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाएको छ। झण्डै ६ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो।
थाहा खबर बाट