कुखुरा खान गएको चितुवा समातियाे

बाग्लुङ

बाग्लुङको बडिगाड गाउँपालिकाको एक कुखुरा फर्ममा बिहीबार बिहान झिसमिसेमा एक पोथी चितुवा देखियो। बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा खोरको जाली च्यातेर भित्र छिरेको चितुवा बिहान अबेरसम्म पनि बाहिर निस्केन। चितुवा बाहिर ननिस्केपछि स्थानीयले सबडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे। प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा बाहिर निस्केन।  चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये केही खाएको थियो भने केही मारेको थियो।

May be an image of 1 person, big cat and outdoors

स्थानीयले खोरको ढोका खुला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, थाल बजाउने गतिविधि गर्न थाले। धेरै समयमको प्रयासपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लाग्यो। बाख्रा बचाउन स्थानीयले चितुवा धपाउँदै गए। चितुवालाई धपाउने अगुवाइ गरेका थिए बडिगाड गाउँपालिका–८ निवासी राजन पाइजाले। धपाउँदै जाँदा चितुवा फर्केर मानिस भएतर्फ आउन थाल्यो। सबैजना डराएर भाग्दै गर्दा राजन भने डराएनन्। कराँते खेलाडी राजनले भाग्यवश चितुवाको घाँटी र गर्धन समात्न भ्याए।

चितुवाले आक्रमण गर्नुअघि नै उनले त्यसलाई समातेपछि नजिकमा भएका सबैले चितुवालाई जबर्जस्ती नियन्त्रणमा लिन सफल भए। नियन्त्रण गर्ने वेलामा पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै क्षति नभएको राजनले बताए। ‘चितुवा नियन्त्रणमा लिने वेला खुट्टामा सामान्य चोट लागेको छ। भाग्यले ठूलो क्षति हुन पाएन,’ राजनले भने, ‘जीवनको अविस्मरणीय क्षण बन्यो।’

नियन्त्रणमा लिएपछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सबडिभिजन वन कार्यालयका रेन्जर दीपक श्रीसले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *