पर्वत ।
कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पुर्पक्षका लागि थुनामा परेका छन् ।मित्रमिलन सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका पराजुली कास्की जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा परेका हुन् । कास्की जिल्ला अदालतले आज उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ । पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । पराजुलीले भने घुस लिएकाे विषयमा इन्कारी बयान दिएका छन् ।