रिजाल परिवारद्वारा विद्यालयमा एक लाख बढी आर्थिक सहयोग

पर्वत ।

जिल्लाको कुश्मा नगरपालिका–१ पाङकी स्वर्गीय सुमित्रा रिजालको श्राद्ध तिथि पारेर स्थानीय एक विद्यालयमा एक लाख बढी रकम सहयोग भएको छ।

स्व. सुमित्राका छोरा रामचन्द्र रिजालले स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयको शैक्षिक तथा आर्थिक अभियानलाई टेवा दिने उद्देश्यले विगतमा जस्तै यस वर्ष पनि आमाको सम्झनामा एक लाख एघार हजार रुपैयाँ विद्यालयको कल्याणकारी कोषमा जम्मा गरेका हुन् ।

रोजगारीको सिलसिलामा अहिले पोर्चुगलमा रहेका रिजालले सामाजिक क्षेत्रमा सहयोग गर्दा स्वर्गीय आमाको आत्माले मुक्ति पाउने विश्वासका साथ विगतदेखि नै विद्यालयमा सहयोग गर्दै आइरहेका छन्। यस्ता कामले समाज परिवर्तन गर्न तथा समाजलाई अब्बल बनाउन गुणस्तरीय शिक्षा आवश्यक हुने र त्यसका लागि विद्यालयमा आर्थिक तथा भौतिक उपलब्धता हुनुपर्ने भन्दै उनले सहयोग गर्दै आएका हुन्।

रिजालले यसअघि २०७९ भदौमा आफ्ना स्वर्गीय हजुरबुवा ज्योतिष शिरोमणि रमाकान्त रिजाल र स्वर्गीय ठुलो दाजु हेम शर्माको पुण्य तिथि पारेर सोही विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। आफू, आफ्नो दाजु र आफ्ना सन्तानले समेत अध्ययन गरेको विद्यालयको श्रीवृद्धिका लागि भन्दै उनले आर्थिक सहयोग गरेका थिए।

त्यसपछि आफ्ना छोरा बशुनन्दन रिजालको व्रतबन्धको अवसरमा ५० हजार रुपैयाँ तथा आफ्नै जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ समेत उनले विद्यालयमा प्रदान गरिसकेका छन्। रिजालकै पहलमा उनका दाजु पदमपाणी रिजालले आफ्नो छोरा शालिग्राम रिजालको वैवाहिक कार्यक्रममा हुने फजुल खर्च कटाई पाङ धैरेनी मा.बि.कै शैक्षिक उन्नतिका लागि ५१ हजार एक सय ५१ रुपैयाँ प्रदान गरिएको थियो।

प्राप्त रकम तथा स्थापना भएका अक्षयकोषहरूबाट आर्थिक रूपमा समस्यामा परेका बिद्यार्थीहरुदेखि जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा आवश्यक पर्ने शैक्षिक सामग्री, पोसाक, छात्रवृत्ति लगायतका कार्यमा उक्त सहयोगबाट प्राप्त ब्याज खर्च गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *