जनअपेक्षा समेट्दै मोदी गाउँपालिकाको प्रि-बजेट छलफल सम्पन्न

पर्वत ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटलाई जनमुखी, समावेशी र परिणाममुखी बनाउने उद्देश्यसहित मोदी गाउँपालिकाले प्रि-बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ। मोदी सभाहल, पातिचौरमा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले स्थानीय आवश्यकता, नागरिकका अपेक्षा तथा विकासका प्राथमिकतालाई केन्द्रमा राखेर यथार्थपरक बजेट निर्माण गरिने बताइन्। उनले विकास योजनाको छनोटदेखि बजेट निर्माणसम्म नागरिक सहभागितालाई उच्च महत्व दिइने उल्लेख गर्दै प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा उपाध्यक्ष बिमल लामिछानेले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारमूलक कार्यक्रमलाई आगामी बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। प्रमुख प्रशासकीय अधिकृत बाबुरा पुरीले बजेट तर्जुमा प्रक्रियाबारे जानकारी दिँदै सरोकारवालाबाट प्राप्त सुझावहरूको आवश्यक अध्ययन तथा विश्लेषणपछि नीति तथा कार्यक्रममा समेटिने बताए।

प्रशासकीय अधिकृत विकास केसीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा सहभागीहरूले कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, युवा स्वरोजगार, महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका विषयलाई आगामी बजेटका प्राथमिक क्षेत्रमा समावेश गर्न सुझाव दिएका थिए।

गाउँपालिकाले प्रि-बजेट छलफलबाट प्राप्त सुझावहरूलाई आधार बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई अझ प्रभावकारी, समावेशी र जनउत्तरदायी बनाइने जनाएको छ। स्थानीय सरकार र नागरिकबीचको सहकार्यलाई सुदृढ बनाउने यस प्रकारको सहभागितामूलक अभ्यासले समृद्ध मोदी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *