पैयुँ गाउँपालिकामा बाँदर धपाउन कर्मचारी

पर्वत।

बाँदरको आतंक बढेपछि पर्वतको पैयुँ गाउँपालिकाले धपाउनको लागि भन्दै ३५ जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ।

गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए।

पैयुँ गाउँपालिकाको सोमबारको १३ औं गाउँसभाले सातवटै वडामा पाँच–पाँच जना बाँदर हेरालु कर्मचारी राख्ने निर्णय गरेको अध्यक्ष ठकुरीले बताए।

‘यहाँ बादरको यतिसम्म आतंक छ कि, पकाएर भर्साउन राखिएको भातको कसौंडी नै बोकेर लगिदिन्छ। खेतबारीमा बालीनाली नै लगाउन नपाइने भइसक्यो,’ उनले भने, ‘पाँच छ हुल बाँदर छन्, तिनले पालैपालेसँग पसेर बस्तीलाई निकै दुःख दिइरहेका छन्।’

उनले बालीनाली लगाउने समयमा मात्र त्यस्ता हेरालु राख्न लागिएको बताए। अहिले मकै छर्ने बेला भएको छ। चैतमा मकै छर्ने बेलामा एक महिना र मकैले सुत्ला भिरेदेखि पाक्नेबेलासम्मको समय (जेठ–असार) मा त्यसरी कर्मचारी नियुक्त गरिने उनले बताए।

उनीहरूलाई मासिक १५ हजारका दरले तलब सुविधा दिने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष मल्लले बताए।

‘अघिल्लो वर्ष हामीले झाडी फँडानी गर्‍यौं। बाँसका झ्याङहरू हटायौं। तै पनि बाँदर आउन कमी नभएपछि धपाउने मानिस नै राख्न लागेका हौं,’ उनले भने, ‘बाँदरले बस्ती नै उखेल्न लागेपछि हामीले यो उपाय अपनायौं। हेरौं, कत्तिको सफल हुन्छ।’

बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

तेह्रौं गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० लाख अनुदान दिने निर्णय गरेको उनले बताए। पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैंसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए।

यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छ भने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ। कक्षा ८ को पालिकास्तरीय परीक्षालाई एसइइ कै ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *