कास्कीमा बाढीको कहर : दुई रेस्टुरेन्ट, एउटा घर र किम्रोङको झोलुंगे पुल बग्यो, घान्द्रुक जाने पक्की सडकसमेत अवरुद्ध 

पर्वत।

लगातारको अविरल वर्षापछि आएको भीषण बाढीले कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले किम्रोङ खोलामाथि रहेको झण्डै १४० मिटर लामो झोलुंगे पुल बगाउनुका साथै घान्द्रुक जाने मुख्य सडकसमेत कटान गरेपछि स्थानीय जनजीवन र पर्यटन गतिविधि प्रभावित बनेका छन्।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलाको झोलुंगे पुल बाढीले बगाएपछि उक्त क्षेत्रको आवतजावत पूर्ण रूपमा ठप्प भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा स्वदेशी–विदेशी पर्यटकका लागि प्रमुख आवागमनको माध्यम थियो।  पुल बगेसँगै किम्रोङ हुँदै घान्द्रुक जाने बाटो बन्द भएको छ। अब किम्रोङबाट घान्द्रुक पुग्न भुजुङ र मेलाचे हुँदै करिब दुई घण्टा बढी समय लगाएर वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष केसीले बताए। उनले विशेषगरी वर्षायाममा सुरक्षित वैकल्पिक मार्गको अभावले स्थानीयवासी र पर्यटक दुवैको जोखिम बढाएको उल्लेख गर्दै स्थानीयको सुरक्षा, सहज आवागमन तथा अन्नपूर्ण पदमार्गको निरन्तरताका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी मोदी खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका ८ र १० को सिमानामा पर्ने सेउली बजार क्षेत्रमा सडक कटान गरेपछि बिरेठाँटी हुँदै पर्यटकीय गाउँ घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।  गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले सेउली बजारस्थित दिपील गुरुङको घर तथा रेस्टुरेन्ट बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा समेत क्षति पुगेको छ। आसपासका अन्य घरहरू पनि उच्च जोखिममा परेका छन्।  सडक कटानका कारण सवारीसाधन सञ्चालन हुन नसक्ने अवस्था रहेको र मर्मत कार्य सम्पन्न भएपछि मात्रै सडक पुनः सञ्चालनमा आउने उनले बताए।

बाढीको बहाव घटेपछि ग्याबिन जाली प्रयोग गरी सडक पुनर्निर्माण गर्ने तयारी भइरहेको भए पनि सडक सञ्चालन हुन केही दिन लाग्ने अनुमान गरिएको छ।  स्थानीय प्रशासन र गाउँपालिकाले मोदी खोलाको आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी तथा खोलानजिक नजान र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

बाढीका कारण अन्नपूर्ण क्षेत्रको पर्यटन, स्थानीय जनजीवन र यातायात सेवामा गम्भीर असर परेको छ। विशेष गरी अन्नपूर्ण पदमार्गमा यात्रा गरिरहेका तथा यात्रा गर्ने तयारीमा रहेका पर्यटकहरू प्रभावित बनेका छन्। स्थानीयवासीले प्रभावित संरचनाको शीघ्र पुनर्निर्माण तथा सुरक्षित आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *