पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाले शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सामुदायिक विद्यालयका कर्मचारी तथा इसिडी (बालविकास) सहजकर्ताहरूको मासिक सेवा-सुविधामा उल्लेखनीय वृद्धि गरेको छ। गाउँपालिकाको यस सकारात्मक र प्रगतिको निर्णयप्रति खुसी व्यक्त गर्दै स्थानीय सरोकारवालाहरूले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण जनप्रतिनिधिहरूमा हार्दिक धन्यवाद एवं आभार प्रकट गरेका छन्। “शिक्षामा गरिएको लगानी नै समृद्ध भविष्यको आधार हो” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै गाउँपालिकाले यो कदम चालेको देखिन्छ।
संशोधित नयाँ तलब संरचना अन्तर्गत विद्यालयका लेखापालको मासिक सेवा-सुविधामा रु. ५,००० वृद्धि गरी अब रु. २७,००० पुर्याइएको छ। त्यसैगरी, माध्यमिक तहका कार्यालय सहयोगीको सुविधामा रु. २,००० थप भई रु. १९,०००, आधारभूत तहका कार्यालय सहयोगीको सुविधामा रु. १,००० वृद्धि भई रु. १८,०००, तथा इसिडी (बालविकास) सहजकर्ताको मासिक सेवा-सुविधामा रु. ३,००० वृद्धि गरेर अब मासिक रु. २२,००० कायम गरिएको छ।
स्थानीय सरकारको यस निर्णयले सामुदायिक विद्यालयको प्रशासनिक र प्रारम्भिक बालविकास तहमा कार्यरत कर्मचारीहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।