पर्वत ।
पर्वतको मोदी गाउँपालिकाले तीन वटा सडक आयोजनाको स्तरोन्नति तथा निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाको कार्यालयले सोमबार (असोज १२ गते) सूचना प्रकाशित गर्दै योग्य नेपाली निर्माण व्यवसायी तथा बोलपत्रदाताबाट हार्ड कपी बोलपत्र माग गरेको हो।
गाउँपालिकाले पातिचौर–क्याङ सडक, मोहोरिया–सरौ सडक र गाडतारा–गिजान–तिलाहार–थामर्जुङ सडक आयोजनाका लागि बोलपत्र आह्वान गरेको सूचनामा उल्लेख छ।
गाउँपालिकाका अनुसार पातिचौर–क्याङ सडक स्तरोन्नति कार्यका लागि ४७ लाख ९९ हजार ९२७ रुपैयाँ, मोहोरिया सरौ सडक स्तरोन्नतिका लागि २६ लाख ९९ हजार ९६१ रुपैयाँ र गाडतारा–गिजान–तिलाहार–थामर्जुङ सडक निर्माण तथा स्तरोन्नति कार्यका लागि १ करोड १९ लाख ९९ हजार १६१ रुपैयाँ अनुमानित लागत निर्धारण गरिएको छ।
तीनवटै आयोजनाको अनुमानित लागत जोड्दा १ करोड ९४ लाख ९९ हजार ४९ रुपैयाँ पुग्छ। उक्त रकममा मूल्य अभिवृद्धि कर (भ्याट), प्यान तथा अन्य लागतसमेत समावेश हुने सूचनामा उल्लेख छ।
बोलपत्र कागजात खरिदका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ। इच्छुक निर्माण व्यवसायीले नेपाल बैंक लिमिटेड, मोदी शाखामा रहेको गाउँपालिकाको राजस्व खातामा तोकिएको दस्तुर जम्मा गरी बोलपत्र कागजात प्राप्त गर्न सक्नेछन्।
सूचनाअनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १३ गते दिउँसो १२ बजेसम्म र बोलपत्र खोल्ने मिति असोज १४ गते दिउँसो २ बजे तोकिएको छ।
गाउँपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित बोलपत्र पेस गर्न इच्छुक तथा योग्य निर्माण व्यवसायीलाई आग्रह गरेको छ।
यी सडक स्तरोन्नति भए संगै ती क्षेत्रहरूमा आवागमन केही सहज हुने अपेक्षा गरिएको छ ।